घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, प्रदेश सरकार लुम्बिनी प्रदेश, उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरु मध्येको एक हो । जिल्लास्थित उद्योग तथा उद्योगीहरुको व्यवसाय विकासमा टेवा दिँदै औद्योगिक प्रबर्द्धन, विकास र व्यवस्थापन गर्नु तथा सीप विकास तालिम र उद्यमशीलता विकास तालिम प्रदान गरी युवा, दलित, पिछडिएका तथा बेरोजगार युवाहरु आदिलाई आय आर्जनमा सहभागी गराउनु यस कार्यालयको मुख्य कार्य हो ।
घरेलु तथा साना उद्योग कार्यालयले साना र घरेलु उद्योगहरूको दिगो विकास र आत्मनिर्भरता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यसको सेवामूलक र समुदायमुखी प्रकृतिले यसलाई स्थानीय विकासमा टेवा पुर्याउने महत्त्वपूर्ण संयन्त्रको रूपमा स्थापित गरेको छ ।
स्वरुप:
- मुख्य कार्यालय: देशको प्रत्येक जिल्ला वा प्रदेशमा यो कार्यालयको एक इकाई रहन्छ ।
- कार्यालय प्रमुख: कार्यालयमा एक अधिकृतस्तर कर्मचारी (सामान्यतया उद्योग अधिकृत) जिम्मेवारीमा हुन्छन् ।
- कर्मचारी संरचना: योजना अधिकृत, तालिम सहायक कर्मचारी, लेखा अधिकृत, प्राविधिक कर्मचारी, सहायक कर्मचारी आदि रहन्छन् ।
- कार्य सम्पादन: नीति कार्यान्वयन, तालिम कार्यक्रम, उद्योग दर्ता तथा नविकरण, सिफारिस आदि ।
प्रकृतिः
घरेलु तथा साना उद्योग कार्यालयको प्रकृति निम्नानुसार व्याख्या गर्न सकिन्छ:
- सेवामूलक: यस कार्यालयको उद्देश्य सेवामूलक कार्यहरू जस्तैः उद्योग तथा वाणिज्य फर्म दर्ता, सिफारिस, प्रवर्द्धन, विभिन्न प्रशिक्षण, अनुगमन, प्रविधि पहिचान तथा हस्तान्तरण आदि गर्नु हो ।
- समुदायमुखी: यसको सेवा अधिकतम रूपमा स्थानीय तहका उद्यमी, व्यवसायी तथा उत्पादनमूलक जनशक्तिमा केन्द्रित हुन्छ ।
- विकासमुखी: यसले साना उद्योगलाई सुदृढ बनाउँदै स्थानीय रोजगारी सृजना र आर्थिक विकासमा योगदान पुर्याउँछ ।
- प्रशासनिक तथा प्राविधिक: कार्यालयले उद्योग सम्बन्धी प्रशासनिक कार्य मात्र होइन, प्राविधिक सहायता र प्रशिक्षण पनि दिन्छ ।
- घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको काम, कर्तव्य र अधिकारः
- नियमानुसार घरेलु तथा साना उद्योगहरु रजिष्ट्रेशन गर्ने ।
- वाणिज्य प्रशासन तथा स्थानीय व्यापार सम्बन्धी कार्य गर्ने फर्म रजिष्ट्रेशनका साथै अन्य कार्यहरु गर्ने ।
- दर्ता भएका उद्योगहरुको नियम अनुसार नविकरण गर्ने ।
- घरेलु तथा साना उद्योगहरुको नामसारी, ठाउँसारी, पूँजी तथा क्षमता वृद्धि, उद्धेश्य संसोधन, खारेजी आदि उद्योग प्रशासन सम्बन्धी कार्यहरु गर्ने ।
- Exim Code सिफारिस गर्ने ।
- प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धी कार्य गर्ने ।
- उद्योगी/व्यवसायीहरुलाई आवश्यक तालिम तथा प्रविधि सहयोग गर्ने ।
- बजार अनुगमन गरी सरल र सहज बजार बजार व्यवस्थापनमा सहजीकरण गर्ने ।
- घरेलु तथा साना उद्योगहरुको औधोगिक तथ्याङ्क अध्यावधिक गर्ने ।
- उद्योगको सुविधा सिफारिस सम्बन्धी कार्य गर्ने ।
- मेला महोत्सवमा उद्यमीहरुलाई सहभागी गराउने कार्य गर्ने ।
- दैनिक प्रशासनिक कार्यहरु तथा तालुक निकायबाट प्रत्यायोजित अन्य सम्पूर्ण सेवाहरु ।